काठमाण्डु – ललितपुरका ४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए ।
हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरूमध्ये २ जना उपचारका क्रममा भागेका छन् भने अन्य २ जनामध्ये १ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को १ जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए ।
उनले झाडापखाला फैलिएको क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहको सहयोगमा संक्रमण रोकथाम गरिएको जानकारी दिए । शाखाका प्रमुख डा. पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दुषित रहेको बताए । ‘इनारको पानीमा दिसाको जीवाणु देखियो,’ उनले भने, ‘त्यहीबाट हैजा फैलिएको हो ।’
उनले भागेका २ जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरूबाट अन्यमा सर्ने सम्भावना कम भएको बताए । उनले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकाले पानी उमालेर खान अनुरोध गरेका छन् ।




प्रतिक्रिया