सिंहदरबारको बहुउद्देश्यीय हलमा भौतिक पूर्वाधारको काम पूरा, प्राविधिक काम धमाधम

सिंहदरबारको बहुउद्देश्यीय हलमा भौतिक पूर्वाधारको काम पूरा, प्राविधिक काम धमाधम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताएका छन् ।

मंगलबार नयाँ संसद् भवनस्थित बहुउद्देश्यीय हलको अवलोकन गर्दै उनले हालको प्राविधिक तयारी भोलि बुधबार बेलुकासम्म पूरा हुने अपेक्षा गरिएको छ । उनले सुरक्षा व्यवस्थापनको काम भने सम्पन्न भइसकेको जानकारी दिए ।

उनले भने, ‘भौतिक पूर्वाधारको काम सकिए पनि प्राविधिक काम बाँकी छ । जुन भोलि बेलुकासम्म तयार हुन्छ । सुरक्षाको व्यवस्थापनको काम पनि सकिएको छ । राम्रो र गुणस्तर सेवामा चाहीँ समस्या देखिएको छ । सभामुखको कुर्सी, सचिवालय स्थानदेखि सबै सानो आकारमा छ ।’

गिरीले सेवा तथा गुणस्तरका केही पक्षमा भने सुधार आवश्यक रहेको उल्लेख गरे । उनले हालका लागि अर्को विकल्प नभएको स्पष्ट पार्दै प्रतिनिधिसभाको स्थायी हल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित अवस्था नरहेको बताए ।

निर्माण कार्य जारी रहेकाले सांसदहरूको शपथ ग्रहण र पहिलो अधिवेशन यही बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको उनको भनाइ छ ।

‘हामीसँग अर्को विकल्प थिएन र छैन पनि । प्रतिनिधिसभाको हल कहिले बन्छ भनेर भन्न सकिने अवस्था पनि छैन् । निर्माण कार्य जारी नै छ । शपथ यही र पहिलो अधिवेशन यही नै बित्ने जस्तो देखिन्छ ।’

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको छैटौँपटक म्याद थपेर निर्माणको काम भइरहेको छ ।

फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीवार शपथ लिँदैछन् । सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने कार्यक्रम छ । केसीले २७४ सांसदलाई शपथ गराउने कार्यसूची तय भइसकेको छ ।