काठमाण्डु- इजरायल र हमासबीच युद्धविराम सम्झौताको पहिलो चरणमा ९० जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन् ।
प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविराम सम्झौताअनुसार शुरूमा तीन जना इजरायली बन्धकहरूलाई रिहा गरेपछि इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको हो ।
इजरायलले तीनै जना इजरायली अब इजरायली भूमिमा फर्किएको बताएको छ । हमासले पहिलो चरणमा रिहा गर्ने तीन जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गरेपछि मात्र गाजामा ढिलोगरि युद्धविराम लागू भएको थियो ।
युद्धविराम शुरू हुन ढिलाइ हुँदा इजरायली आक्रमणमा कम्तीमा १९ जनाको पनि मृत्यु भएको छ ।
युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।
मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ ।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा भने छुटेका छैनन् । युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक हुँदा विपिनको नाम समावेश थिएन ।
युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।
नेपाल सरकारले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कुटनीतिक पहल गर्दै आएको छ । विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको छ । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा परिवारमा छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रको अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा १० जना विद्यार्थीको ज्यान गएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था थाहा हुन सकेको छैन ।
विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । ‘सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,’ गृहमन्त्री लेखकले भने ।




प्रतिक्रिया