हमासले दुई बालकसहित चार बन्धकको शव हस्तान्तरण गर्दै, शनिबार थप ६ जना बन्धक रिहा हुने

हमासले दुई बालकसहित चार बन्धकको शव हस्तान्तरण गर्दै, शनिबार थप ६ जना बन्धक रिहा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- हमास लडाकु समूहले बिहीबार दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने भएको छ । हस्तान्तरण गरिने शवहरूमा ९ महिना र चार वर्षका बच्चा छन् ।

उनीहरूलाई हमास समूहले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो । तिनीहरू इजरायली बमबारीमा मारिएको हमासको दाबी छ । यस बारेमा इजरायलले भने केही पुष्टि गरेको छैन । बालबालिकाका बाबु यार्डेनलाई हमासले यस महिनाको सुरुमा रिहा गरेको थियो । एक इजरायली अधिकारीका अनुसार मृत बन्धकहरूको पहिचान इजरायलमा पुष्टि गरेपछि मात्र तिनीहरूको नाम सार्वजनिक गरिनेछ ।

यस्तै, हमासले शनिबार थप छ जना जिवित बन्धकहरू रिहा गर्ने बताएका छन् । यसको बदलामा इजरायलले गत अक्टोबरपछि पक्राउ परेका सबै महिलाहरू र १९ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई रिहा गर्नेछ । यसका साथै इजरायलले गाजामा केही भग्नावशेष हटाउने उपकरणहरू पनि पठाउन अनुमति दिने बताइएको छ ।

हमासले शनिबार रिहा गरिने छ जना इजरायलीहरू मध्ये दुई जनाको नाम घोषणा गरेको छ । उनीहरू एभेरा माङ्गिस्तु र हिशाम अल सैयद हुन् । उनीहरूलाई २०१४ र २०१५ मा गाजामा छिरेपछि पक्राउ गरिएको थियो । युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत हमासले ३३ जना बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो । यसको बदलामा, इजरायलले करिब १,९०० जना प्यालेष्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति गरेको थियो ।

हाल ७३ जना बन्धकहरू गाजामा छन् जसमा इजरायली सैनिकहरू, सर्वसाधारण (जीवित र मृत दुवै), साथै थाई र नेपाली नागरिक पनि छन् । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा करिब १,२०० जनालाई हत्या गरेको थियो र २५१ जनालाई बन्धक बनाएको थियो । इजरायलले यसको जवाफमा १५ महिनासम्म सैन्य आक्रमण चलाएको थियो, जसमा गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ४७,४६० जना फिलिस्तिनी मारिएका छन् ।