दक्षिण एसियामा नेपाली सबैभन्दा बढी खुशी

दक्षिण एसियामा नेपाली सबैभन्दा बढी खुशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मार्च २०मा विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइन्छ । शुक्रबार यो दिवस विश्वभर मनाइएको हो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउने गरिन्छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुुरु गरिएको हो ।

सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गर्दै खुशीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाएपछि त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइने गरिएको छ ।

यो दिवसले मानिसलाई खुशीको वास्तविक अर्थ र महत्वबारे पुन सोच्न प्रेरित गर्छ ।

खुशी केवल अनुहारमा देखिने मुस्कान मात्र होइन, यो मानिसको अन्तरआत्माको सन्तुष्टि, आशा र जीवनप्रतिको सकारात्मक दृष्टिकोणसँग जोडिएको गहिरो अनुभूति हो ।

तर नेपालजस्तो देशमा खुशी व्यक्तिगत भावना मात्र नभई सामाजिक, आर्थिक र राजनीतिक अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय बनिरहेको छ ।

नेपाल पहिलो

यसबीच अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा वर्ल्ड ह्याप्पीनेस इन्डेक्सको २०२६को रिपोर्ट सार्वजनिक भएको छ ।

वर्ल्ड ह्याप्पीनेस इन्डेक्स २०२६ ले संसारका विभिन्न देशहरूमा मानिसहरूको खुसीको स्तर र जीवन सन्तुष्टिको विस्तृत विवरण सार्वजनिक गरेको हो।

यो प्रतिवेदनले विशेष गरी सामाजिक सञ्जालको बढ्दो प्रयोग र युवाहरूको मानसिक स्वास्थ्यबिचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ।

संसारका १० सबैभन्दा खुसी देशहरूको सूचीमा फिनल्याण्ड पहिलो स्थानमा रहेको छ। त्यसैगरी आइसल्याण्ड दोस्रो, डेनमार्क तेस्रो र कोस्टारिका चौथो स्थानमा छन्।

शीर्ष १० मा क्रमशः स्विडेन (पाँचौं), नर्वे (छैटौं), नेदरल्याण्ड्स (सातौं), इजरायल (आठौं), लक्जमबर्ग (नवौं) र स्विट्जरल्याण्ड (दशौं) छन्। यी देशहरूमा उच्च सामाजिक सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, कम भ्रष्टाचार र आर्थिक स्थिरतालाई खुसीको मुख्य आधार मानिएको छ।

दक्षिण एसियामा नेपालको स्थिति राम्रो देखिएको छ। प्रतिवेदन अनुसार नेपाल ९९औँ स्थानमा रहेको छ, जुन दक्षिण एसियाका देशहरूमा पहिलो स्थानमा छ । सन् २०२५मा नेपाल ९२औँ स्थानमा थियो ।

यस वर्ष अन्य दक्षिण एसियाली देशहरूमा पाकिस्तान १०४औँ, भारत ११६औँ, बंगलादेश १२७औँ र आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका १३४औँ स्थानमा छन्। अफगानिस्तान भने १४७औँ स्थानमा रहँदै विश्वकै सबैभन्दा कम खुसी देश बनेको छ। भुटान र माल्दिभ्सलाई भने यस पटकको मुख्य सूचीमा समावेश गरिएको छैन।

विश्वका १० सबैभन्दा कम खुसी वा दुःखी देशहरूको सूचीमा अफगानिस्तानसँगै सियरा लियोन, मलावी, लेबनान, बोत्स्वाना, जिम्बाब्वे, इथियोपिया, इस्वातिनी (स्वाजिल्याण्ड), लेसोथो र कंगो (डीआरसी) जस्ता देशहरू प्रमुख रूपमा छन्।

यी देशहरूमा गृहयुद्ध, चरम गरिबी, राजनीतिक अस्थिरता र द्वन्द्वलाई न्यून खुसीको प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।

यस वर्षको प्रतिवेदनले एउटा चिन्ताजनक तथ्य पनि उजागर गरेको छ।

उत्तर अमेरिका र पश्चिमी युरोपका विकसित देशहरूमा विगत १५ वर्षको तुलनामा युवाहरू (विशेष गरी २५ वर्षमुनिका)को खुसीको स्तर उल्लेखनीय रूपमा घट्दो क्रममा छ।

दैनिक ७ घण्टाभन्दा बढी सामाजिक सञ्जालमा बिताउने युवाहरूमा जीवन सन्तुष्टि कम पाइएको र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ।