काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आज विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको जानकारी दिएका छन् ।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।
खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।




प्रतिक्रिया