आज हरिबोधनी एकादशी मनाइँदै

आज हरिबोधनी एकादशी मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हरिबोधिनी एकादशी शनिबार मनाइँदैछ । यो एकादशीलाई देवउठनी एकादशी पनि भनिन्छ र यसदिन भगवान विष्णु योग निद्राबाट जाग्नु भएको मान्यता छ ।

कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी प्रबोधिनी वा ठूली एकादशी देशभर श्रद्धा र भक्ति भावसहित मनाइने परम्परा छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ।

यस दिन विष्णुको पूजा गरिन्छ र चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध जस्ता शुभ कार्यहरू सुरु हुन्छन् । साथै तुलसीको विवाह पनि गरिन्छ।

हरिबोधिनी एकादशीमा विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्छ, र व्रत बस्नेहरूले फलफूल ग्रहण गर्छन्, र रातभर भजन कीर्तन गरिन्छ।

भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदङ्ग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।

विष्णु भगवानको जागरणसँगै चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृह प्रवेश र अन्य माङ्गलिक कार्यहरूको शुभ मुहूर्त सुरु हुने मान्यता छ। ठूली एकादशीमा घर आँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरिन्छ। तुलसी मठलाई गोबर र माटोले लिपपोत गरी, सेता, रातो, पहेँलो वस्त्र र फूलमालाले सिँगारिन्छ र विष्णुको प्रतीक लिङ्गोसँग विवाह सम्पन्न गरिन्छ।

व्रतालुले फलाहारमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्छन्। यस व्रतले हजार अश्वमेध र सय राजसूय यज्ञ बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। दिवङ्गत पितृको नाममा खोलामा फूल तारेर ‘पितृभ्य स्वधा नमः’ उच्चारण गर्ने प्रचलन पनि छ ।

यसरी फूल तारेर पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरुलाई प्राप्त हुन्छ र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद दिन्छन् भनी शास्त्रमा वर्णन गरिएको छ ।