काठमाण्डौं – सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले सडक विस्तारकार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरेका छन् ।
नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह–सचिव डा. रामप्रसाद लम्साललले जानकारी दिए । लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने बताए ।
यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा वृहत वृक्षारोपण गरिसकेको छ । मन्त्रालयले देशभर पाँच करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ ।




प्रतिक्रिया