काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारत र चीनले लिपुलेक भएर मानसरोबरसम्म यातायात सञ्चालन थालेको विषयमा सरकारले अनदेखा गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा दोस्रो अधिवेशनको पहिलो बैठकमा सोमबार राईले नेपाली भूमि लिपुलेकलाई भारतले नाकाका रूपमा उपयोग गर्दा नेपाल सरकार लुकेर बसेको आरोप लगाए ।
हस्ताक्षर बिनाको कूटनीतिक नोट जारी गरेका भरमा सरकार मौन बस्न नमिल्ने उनको भनाइ थियो । ‘लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार ? किन कूटनीतिक वार्ता गर्न सकेन ?’ उनले भने, ‘हस्ताक्षरबिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ यो सरकार ?’
उनले सुकुमबासी बस्ती उठाउन सेना पठाएको भन्दै सरकारको आलोचना गरे । सेनालाई सुकुमबासी बस्तीमा नभई सीमा सुरक्षामा खटाउन उनले माग गरे । ‘सीमा बचाउन नसक्ने तर जनताको गरिब बस्तीमा पठाएर आतंक फैलाउनुको कारण के हो ?’ उनले भने ।
सरकारले लोकतन्त्रको मर्मविपरीत अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि उनले लगाए । ‘सरकारलाई लोकतन्त्रको याद दिलाउनुपर्ने भयो । नागरिक सर्वोच्चतालाई संसद्को सर्वोच्चताले स्थापित गर्दछ,’ राईले भने, ‘संसद् छल्नु भनेको जनमत नमान्नु हो । लोकतन्त्र नमान्नु हो ।’
राईले ६ सदस्यीय संवैधानिक परिषद्मा ३ सदस्य सत्तापक्षमा हुँदैमा कसरी बहुमत भयो भन्ने प्रश्न गरेका छन् ।




प्रतिक्रिया