काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारसँग सुस्तालगायत क्षेत्रमा नेपाली सेना परिचालन नगर्नुको कारण माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा आएर जवाफ दिनुपर्ने बताए ।
नेपाली सेनालाई सीमा क्षेत्रमा परिचालन गर्न नमिल्नुको कारणबारे संसदलाई जानकारी चाहिने उनको भनाइ थियो ।
रक्षामन्त्रीको समेत जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्हाल्दै आएका छन् ।
राईले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको दाबी गरे ।
‘म प्रश्न गर्न चाहन्छु, नेपाल सरकारको अहिले रक्षामन्त्री को हो ? सभामुख महोदय, रक्षामन्त्रीलाई तपाईंले बोलाइनदिनुस् । उहाँलाई म प्रश्न सोध्न चाहन्छु सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी) आएर नेपाली दाजुभाईहरुलाई हप्कीदप्की गर्ने गरेको नेपाली दाजुभाई आफ्नो भूमिका लागि निहत्था लड्दै–भिड्दै गरेको भिडियोहरु सार्वजनिक भएका छन् । त्यसतर्फ नेपाल सरकारको रक्षामन्त्री खोेजेर यहाँ ल्याइदिनुपर्यो । हामी यहाँ प्रश्न सोध्न चाहन्छौं उहाँलाई’, राईले भने, ‘हाम्रो नेपाली सेना सीमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ ? नेपाल सरकारले सीमानामा चियाउन पनि नमिल्ने खालको के चाहिं करार गरेको रहेछ ? त्यो करार पत्र, त्यो सन्धि यहाँनेर हामीलाई देखाइदिनुपर्यो । हामी सबै सार्वमौभ सांसद् जान्न चाहन्छौं । सूचनाको हक धारा २७ अनुसार हामीलाई जानकारी होस् । अन्यथा त्यसरी सुरक्षाबिना खुला सीमाना जसले पनि मिच्छ ।’
संसदमा बजेट, कर छलीको छानबिन र बीवाइडी गाडीका विषयमा बहस भइरहेको र त्यो मुलुको पहिलो प्राथमिकता नरहेको उनको भनाइ थियो ।
तर, मुलुकको पहिलो प्राथमिकता सीमाना भएको बताए ।
‘भूगोल बिनाको, माटो बिनाको देश हुन्छ र ? सम्भव छ र ? म यो प्रश्न गर्न चाहन्छु’, राईले भने, ‘तीन करोड नेपालीले जान्न चाहेको छ । हामीले हाम्रो सीमानामा नेपाली सेनालाई लान नमिल्ने कारण के रेहछ ? कहाँ हामीले के सन्धि गरेका छौं ?’
उनले रुलिङ गरेर रक्षामन्त्रीेसमेत रहेका प्रधानमन्त्री शाहलाई संसदमा ल्याइदिन सभामुखसँग माग गरे ।




प्रतिक्रिया