प्रधानमन्त्रीको ‘राष्ट्रघाती अभिव्यक्ति’ खारेज गर्न भन्दै हर्कले राखे संकल्प प्रस्ताव

प्रधानमन्त्रीको ‘राष्ट्रघाती अभिव्यक्ति’ खारेज गर्न भन्दै हर्कले राखे संकल्प प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन संकल्प प्रस्ताव पारित गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिनिधि सभा बैठकमा मंगलबार उनले संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई पक्राउ गरेर ल्याउन नमिल्ने र फकाउँदा नआउने देखिएकाले गाँठो फुकाउन संकल्प प्रस्ताव विकल्प हुन सक्ने तर्क उनको थियो ।

‘हामी प्रधानमन्त्रीज्यूलाई बोलाएको बोलायै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ । पकडेर/बोकेर ल्याउने चलन छैन,’ साम्पाङले भने, ‘सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नु हुन्न । कहिलेकाहीँ आउनुहुन्छ । आएर फेरि के बोल्नुहुन्छ हुन्छ । समस्या भयो । त्यसले गर्दाखेरि म आज एउटा संकल्प प्रस्ताव पेस गर्न चाहन्छु ।’

आफूले प्रतिनिधि सभा नियामावलीमै टेकेर संकल्प प्रस्ताव प्रस्तुत गरेको दाबी उनले गरे ।

‘प्रधानमन्त्रीले सभामा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने राष्ट्रविरूद्धको अभिव्यक्तिलाई सभाको रेकर्डबाट अविलम्ब हटाउँदै प्रधानमन्त्रीको समेत लिखत वक्तव्य समावेश गरी आगामी दिनहरूमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरु, प्रतिनिधि सभाका सांसदज्यूहरू, कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने दिन नपाउने साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभइ सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौँ भनी म यो निवेदन पेश गर्न चाहन्छु,’ साम्पाङले भने ।