काठमाण्डु– नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्क सामपाङ्गले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । हर्कले सरकारको कार्यशैलीले मुलुकमा लोकतन्त्रको साटो अराजकता मौलाउँदै गएको भन्दै संसद्मा ध्यानाकर्षण गराए ।
उनले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ? भन्दै प्रश्न गरेका छन्
उनले भने, ‘जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ, अथवा एकथरिले मात्रै मान्नुपर्ने बाध्यता, अर्को थरिलाई नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ। मलाई लाग्छ यो सदन पनि बिस्तारै–बिस्तारै अराजकतातर्फ उन्मुख हुँदै छ। सभामुखले पनि यो महसुस गर्नुहुनेछ ।’
प्रधानमन्त्री, मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा पक्राउ पर्नुपर्ने कि नपर्ने ? भन्दै प्रश्न गरे।
उनले थपे, ‘मलाई पनि दुईजना व्यक्तिले ज्यानै मार्ने, मेरो घरै जलाइदिन्छु भन्ने सम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। के आफ्ना समर्थकले जे भन्दा पनि छुट हुन्छ भन्ने हो ?’
‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ? ‘अब केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने ? यहीँ प्रश्न छ । एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ ।’उनले भने ।




प्रतिक्रिया