पानी माग्न खानेपानी मन्त्रालय पुगे हर्क साम्पाङ

पानी माग्न खानेपानी मन्त्रालय पुगे हर्क साम्पाङ


काठमाण्डु- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्रीबिना सिंहदरबारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।

मंगलबार सिंहदरबार अगाडि पुगेका साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि उनी रित्तो गाग्रीबिनै सिंहदरबार छिरेका हुन् ।

उनी रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि खानेपानी मन्त्रालयभित्र गाग्रीबिनै पुगेका छन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीबिनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् ।

धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन् । साम्पाङ रित्तो गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन काठमाडौं आएका हुन् । उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।