काठमाण्डु – धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।
आईतबार साँझ काठमाण्डु आएका मेयर साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको गुनासो गरे ।
उनले भने, ‘लोकतन्त्रको अनुभव भएको छैन । भोलि सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिति छ । अब मलाई त त्यो हुन्छ, भने सर्वसाधारण जनताले मन्त्रीलाई भेट्न सक्छ ?’
उनले थपे, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ, पार्टी होइन । जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसकेपछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङभन्दा माथि उठेर काम गर्नुपर्छ, त्यो नभएर राजतन्त्रको माग भइरहेको छ ।’
सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने भएका कारण पनि जनता रुष्ट भएका उनले बताए ।
प्रतिक्रिया