नेपाल आएका भारतीय विदेश सचिव श्रृंगलाले के–के गरे ?


काठमाण्डु – भारतीय विदेश सचिव हर्षवद्र्वन श्रृंगला दुई दिने भ्रमणका लागि बिहीबार काठमाण्डु आएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपाली भूमि अतिक्रमण गरेपछि चिसोपना आएको दुई देशको सम्बन्ध विदेश सचिव श्रृंगलाको भ्रमणले सुधार गर्ने अपेक्षा गरिएको छ ।

बिहीबार बिहान ११ बजे काठमाण्डु अवतरण गरेका श्रृंगला दिनभर भेटवार्तामा व्यस्त भएका थिए । त्रिभुवन विमानस्थलमा अवतरणपछि पत्रकारहरुसँग नेपाली भाषामा कुरा गर्दै उनले नेपाल भारतबीचको सम्बन्ध सुधारको संकेत गरे ।

नेपाल आएका विदेश सचिवले के गरे ?

उनले भ्रमणको पहिलो दिन नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गरेका थिए ।  सोही क्रममा विदेश सचिव श्रृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के पी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरे । भेटवार्ताहरु सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको बताइएको छ ।

बैठकमा दुई परराष्ट्र सचिवले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवम् समीक्षा गरेका थिए । उनीहरुले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यको विविध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा सन्तुष्टि व्यक्त गरेका छन् । यस अवधिमा सीमामा व्यापार र वाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरूको सक्रिय कार्यान्वयन सुनिश्चित गर्न भारत सरकारले खेलेको भूमिकाको नेपाली पक्षले सराहना गरेको भारतीय पक्षले जनाएको छ ।

दुवै परराष्ट्र सचिवले सीमा सम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमा सम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गरेका थिए । दुवै देशका परराष्ट्र सचिवले उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरूबीच परम्परागत रूपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति गरेका छन् ।

राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा विदेश सचिव श्रृंगलाले भारतका राष्ट्रपतिको सन्देश सुनाएका थिए । उनीहरुले दुई देशबीचको घनिष्ट सम्बन्ध र यसलाई अझ मजबुत बनाउने तरिकाहरु बारे छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए उनले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र समकक्षी भरतराज पौड्यालसँग भएको फलदायी भेटवार्ताबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

उनले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण र द्विपक्षीय आदानप्रदान र सहकार्यको दिशालाई अघि बढाउनेबारे विचार आदानप्रदान भएको छ ।

विदेश सचिव श्रृंगलाले कोभिड–१९ को चुनौतीलाई सामना गर्न भारतले गरेको उल्लेख्य प्रगतिबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराएका थिए । उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाएको निमन्त्रणा पनि सुनाएका थिए ।

बैठकपछिको एउटा छुट्टै समारोहमा भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरे । भारत सरकारले गत अप्रिल महिनादेखि नै कोभिड—१९ विरुद्व लड्न आवश्यक औषधी, उपकरण तथा क्षमता विकासमा नेपाललाई सहयोग पु¥याइरहेको छ ।

अहिलेको सहयोग पनि त्यसकै निरन्तरता रहेको भारतीय पक्षले जनाएको छ । उनले कोभिड—१९ सम्बन्धी हर सहयोग पु¥याउन नेपाललाई भारतको निरन्तर साथ रहने आश्वासन पनि दिए ।

उनले आज नेपाल भारत मैत्रीको विषयमा आफ्ना भनाई राखिरहेका छन् ।  उनले गोरखामा भूकम्प प्रभावितका लागि ५० हजार घर बनाउने प्रतिबद्धताअनुसार ४० हजार घर बनिसकेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गोरखामा ५० हजार घर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । ३ वटा विद्यालय भवन समेत बनेको र आज नै उद्घाटन गर्नेछन् । उनी आज दिउंसो १ बजे स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement