पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या

पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर – पांचथरको मिक्लाजुङ गाउँपालिका ३ मा गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ। मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेका बमबहादुर फियाक र धनराज सेर्माको घरमा घटना भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए।

उनका अनुसार फियाक र सेर्मासहित सात महिलाको हत्या भएको हो। तीमध्ये तीन बालिका पनि छन्। फियाकको घरमा चार र सेर्माको घरमा पाँच जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव पाइएको उनले बताए।

धनराजको परिवारका पाँच जनाको शव घरभित्रै छ। बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए। ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्। मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए। घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो।

घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ। इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुग्न लागेको छ। इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ।