काठमाण्डु- चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरले बताए ।
उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड वार्निङ (चेतावनी) हवाइ फायर गरिएको थियो ।
मकुनालाई धपाउनका लागि ६ राउण्ड गोली फायर भएको छ ।
‘आत्मरक्षाका लागि टोलीले २ राउन्ड ‘वार्निङ’ हवाई फायर गरेका थिए । त्यसपछि पनि मकुना थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसाद तर्फ आउँदा त्यहाँ सवार रेजर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्वीप टोलीले मकुनालाई ३ राउन्ड गोली प्रहार गर्दा केही पर गएर फर्किएर आक्रमण गर्न थालेपछि अर्को एक राउन्ड गोली प्रहार गरेको थियो,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब १ किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थियो । तत्कालै उठाउन प्रयास गर्दा नउठेपछि पशु चिकित्सक सहितको प्राविधिक टोलीले मकुनालाई मृत घोषणा गरेका थिए ।
घटनास्थलमा मृत हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको भेटिएको छ ।
मकुना मंसिर महिनादेखि सौराहा क्षेत्रमा रहँदै आएका थिए । त्यसलाई धपाउनका चितवन राष्ट्रिय निकुञ्जले दैनिक ५–६ वटा हात्ती सहितको सुरक्षाकर्मीको टोली परिचालन गरेको थियो । मकुना चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा गत वर्ष पहिलो पटक आएको थियो।




प्रतिक्रिया