सशस्त्र प्रहरी हत्या अभियोगमा जन्मकैद सुनाइएका पूर्वप्रदेश सांसद यादव पक्राउ

सशस्त्र प्रहरी हत्या अभियोगमा जन्मकैद सुनाइएका पूर्वप्रदेश सांसद यादव पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले यादवलाई जिल्ला अदालत महोत्तरीमा हाजिर गराइएको जानकारी दिए । अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी–४ (क) बाट प्रदेश सांसद निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचन अघि जसपाले यादवलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेर पराजित भएका यादव अदालतमा मुद्दा चलिरहँदा फरार भएका थिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या गरेको आरोपमा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।