काठमाण्डु – कैलालीको टीकापुरमा एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मंगलबार राति टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार हुँदा लम्कीका २२ वर्षीय भुपेन्द्र बडुवालको मृत्यु भएको थियो ।
दुई समूहबीच झडप हुँदा एक पक्षले चक्कु प्रहार गर्दा घटना भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नमाथि कडा कारवाहीको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि लम्कीचुहास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन ।
पीडित पक्षले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि लम्की चुहामा सवारीसाधनको लामो लाइन लागेको छ । सडकमै सवारी साधन रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।
हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया