एक नेपाली महिलासहित ७ जनाको हत्या गर्ने पूर्वसैनिकलाई ‘जन्मकैद’


काठमाडौं – एक नेपाली महिलासहित सात जनाको नियतवश हत्या गरेको अभियोगमा साइप्रसका एक सैन्य अधिकृतलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

उनले एक नेपाली महिला, दुई बालबालिका र चार विदेशी महिलासहित सात जनाको नियतवश हत्या गरेका थिए । नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ ।

उनले हत्या गरेका महिलामध्ये तीन जना फिलिपिन्सका, एक जना नेपाली र एकजना रोमानियाका नागरिक हुन् । उनीहरूमध्ये अधिकांश साइप्रसमा घरायासी कामदारका रूपमा कार्यरत थिए । उनले हत्या गरेका दुई बालबालिका पनि तिनै महिलाका सन्तान हुन् ।

अदालतले आफ्नो आदेश सुनाउनुभन्दा अघि ३५ वर्षीय निकोस मेटाक्सासले सेप्टेम्बर २०१६ देखि अगस्ट २०१८ सम्मका हत्या र अपहरणसम्बन्धी १२ वटा अभियोग स्वीकार गरेका थिए ।

उनले अदालतमा आँसु निकाल्दै पीडितका परिवारसँग माफी मागेका थिए । आफूले किन त्यस्तो ‘घृणित अपराध’ गरेँ भन्ने आफूलाई नै थाहा नभएको उनको भनाइ थियो ।

साइप्रसको आधुनिक इतिहासमा भएको पहिलो ‘सिरियल किलिङ’ अर्थात् शृङ्खलाबद्ध हत्याले पूर्वी भूमध्यसागरमा अवस्थित सो टापुराष्ट्र स्तब्ध भएको छ ।

उनी सेनामा क्याप्टेन थिए । अदालतभित्र बुलेट प्रुफ भेस्ट लगाएर उपस्थित भएका उनलाई त्यहाँको न्यायप्रणालीले अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाएको छ ।

साइप्रसमा आजीवन कारावास २५ वर्ष लामो हुन्छ । यो निर्णयविरुद्ध उनले पुनरावेदन नगर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement