काठमाडौं – आइतबार बेलुका बारा तथा पर्सामा अचानक आएको हावाहुरीका कारण कम्तिमा ३० जनाको ज्यान गएको र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गहिरो दुःख व्यक्त गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु’ अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय वायु तथा भारतको मध्य प्रदेशमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभावको कारण बारा, पर्सा, रौतहटसहित तराईका जिल्लामा ठूलो हावाहुरी चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साँझ साढे सात बजेदेखि सुरु भएको हावाहुरी झन्डै आधा घण्टासम्म चलेको थियो ।




प्रतिक्रिया