हावाहुरीमा परेका घाइतेका लागि नेपाली सेना र प्रहरीका जवानले गर्न थाले रक्तदान


काठमाडौं – आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा रगतको अभाव भएको छ ।रगत अभाव भएपछि नेपाली सेना र प्रहरीका जवानहरुले रक्तदान गर्न थालेका छन् ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार वारा र पर्सामा रक्तसञ्चार केन्द्रमा सेना र प्रहरीका जवानहरुले मध्यरात रक्तदान गरेका छन् । रातभर प्रभावित क्षेत्रमा सेना र प्रहरी राहत तथा उद्दारमा खटिएका छन् । विपतका बेला सेना र प्रहरीका जवानहरुले विगतमा पनि रक्तदान गर्दै आएका छन् ।

हावा हुरीका कारण बारा र पर्सामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । भने चार सय भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । भीषण हावाहुरीले बाराको पसौनी, फेटा र सुवर्ण गाउँपालिकामा २६ जनाको मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए ।

एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement