काठमाडौं – आइतबार राति बारा र पर्सामा भीषण आंधी हुरीका कारण प्रभावित भएकाहरुलाई नेकपाका सांसदले एक दिनको तलव दिने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।
आँधीको भोलिपल्ट सोमबार प्रधानमन्त्री ओली प्रभावित क्षेत्रको निरीक्षणमा समेत पुगेका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् ।
प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेका हुन् । प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको छ् ।
प्रतिक्रिया