काठमाण्डु– हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका ८ विमान ‘डाइभर्ट’ भएका छन् ।
“अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाण्डु आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाण्डुबाट पश्चिमतर्फ उडेका विमान काठमाण्डुनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने ।
उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् ।
श्री एयरलाइन्सको विराटनगरबाट काठमाण्डु उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाण्डु उडानका दुई विमान डाइभर्ट भएका छन् ।
भद्रपुरबाट काठमाण्डुका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाण्डुबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाण्डु नै फर्किएको छ ।
त्यसैगरी काठमाण्डुबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाण्डु नै फर्किएको छ ।श्री एयरलाइन्सकै काठमाण्डु भैरहवा उडानको विमान पनि काठमाण्डु फर्किएको छ ।
सोही एयरलाइन्सको काठमाण्डुबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाण्डु फर्किएका छन् । बुद्ध एयरको काठमाण्डु–नेपालगञ्ज उडानको विमान पनि काठमाण्डु फर्किएको छ ।
काठमाण्डुमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।




प्रतिक्रिया