२०२३ मा हवाई उद्योगले ४.३५ अर्ब यात्रुलाई सेवा दिने प्रक्षेपण


एजेन्सी – अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) ले विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण गरेको छ ।

यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । कोभिड महामारीबाट विश्व समुदाय विस्तारै सामान्य अवस्थामा फर्किएको र यसको लाभ विश्वभरीका उडान सेवाले लिने आईएटीएले सोमवार बताएको हो ।

आईएटीएका अनुसार सन् २०२३ मा खूद मुनाफा ९.८ अर्ब अमेरिकी डलर पुग्ने वा अघिल्लो अनुमानको दोब्बर हुनेछ । विश्व समुदायसँगै कोभिडबाट बढी प्रभावित मुलुकमध्येको एक राष्ट्र चीनले पनि कोभिड प्रतिबन्धको अन्त्य गरेपछि खूद मुनाफा अनुमानभन्दा बढी अर्थात् दोब्बर पुग्ने प्रक्षेपण गरिएको हो ।

सङ्गठनका अनुसार सन् २०२२ मा ३.६ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी अनुमान गरिएकोभन्दा आधा कम नोक्सान भएको थियो । ‘सन् २०२३ मा एयरलाइन्सको वित्तीय प्रदर्शनले अपेक्षालाई पराजित गरिरहेको छ,’ आईएटीएका महानिर्देशक विली वाल्शले इस्तानबुलमा सङ्गठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भने ।

‘बलियो लाभप्रदता धेरै सकारात्मक विकासहरूद्वारा समर्थित छ । चीनले अनुमान गरेभन्दा पहिले यस वर्षको सुरुमा कोभिड–१९ प्रतिबन्ध हटाएको थियो,’ वाल्शले भने ।

हवाई इन्धनको मूल्य उच्च रहे पनि वर्षको पहिलो छ महिनामा भने यो मूल्यमा कमी आएको उनले बताए । फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ऊर्जाको लागत बढेको थियो तर त्यसयता तेल र प्राकृतिक ग्यासको मूल्यमा गिरावट आएको छ ।

महामारीले वायुसेवा उद्योगलाई तहसनहस पारेको र सन् २०२० मा देशहरूले लकडाउन लागू गर्दा र सीमाहरू बन्द गर्दा १३७ अर्ब डलर गुमाएको थियो ।

यस क्षेत्रले सन् २०२१ मा थप ४२ अर्ब डलर गुमाएको थियो र गत वर्ष पनि रातो अवस्थामा थियो किनकि एक प्रमुख बजार चीनले कोभिड प्रतिबन्धहरूलाई जारी राख्ने अनुमान गरिएको थियो तर अन्ततः डिसेम्बरमा चीनले पनि कोभिडजन्य सबै प्रतिबन्ध हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement