सर्लाही – जिल्लामा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ ।
जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष्ट हुँदा किसानहरू मारमा परेका हुन् ।
जिल्लाको चन्द्रनगर गाउँपालिकाका किसान राम ध्यान ठाकुरले आफ्नो करीब २ कठ्ठा जमिनमा लगाएको मकै पूर्णरूपमा नष्ट भएको बताए । हावाहुरीले बोटै ढालिदिएपछि उत्पादनको सबै आशा समाप्त भएको उनको भनाइ छ ।
अर्का किसान रामपुकार महतोको करीब ७ कठ्ठामा लगाइएको मकैमध्ये अधिकांश बालीमा क्षति पुगेको छ । ‘हावाहुरीले बाली नै ढालिदियो, अब अपेक्षित उत्पादन नहुने देखिन्छ,’ उनले दु:ख व्यक्त गरे ।
चन्द्रनगर मात्र नभई जिल्लाका गोडैता, ईश्वरपुर, ब्रह्मपुरी, हरिपुरलगायत विभिन्न क्षेत्रमा सयौं बिघा जमिनमा लगाइएको मकै र गहुँ बालीमा क्षति पुगेको स्थानीयले जनाएका छन् । राम्रोसँग हुर्किरहेको बाली एक्कासि ढलेपछि किसानहरू चिन्तित बनेका छन् ।




प्रतिक्रिया