काठमाण्डु– नेपाल आयल निगमले करिब ६ अर्ब ५० करोड रुपैयाँ लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी भाग, गुह्येश्वरी क्षेत्रमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।
हालको सिनामंगलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्डअनुसार नपरेको, विमानस्थल क्षेत्रमा सुरक्षा जोखिम बढेको, र भण्डारण क्षमता विस्तार गर्न नसकिने देखिएपछि निगमले नयाँ डिपो निर्माणको योजना अघि बढाएको हो।
यस परियोजनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाबाट तयार पारिएको हो। उक्त डिपिआर आज एक कार्यक्रमकाबीच इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन प्रा.डा. सुरज लामिछाने र सहप्राध्यापक नारायण गौतमले निगमका सिनामंगल डिपो प्रमुख प्रदी कुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरे।
प्रस्तावित डिपोको कुल लागत ६ अर्ब ५४ करोड २९ लाख रुपैयाँ हुने उल्लेख गरिएको छ। नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले निर्धारण गरेका अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार निर्माण गरिने निगमले जानकारी दिएको छ।
डिपो स्थानान्तरणसम्बन्धी अध्ययनका लागि निगमले गत मंसिर ५ गते इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएको थियो। सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ।
नयाँ डिपोमा ३ हजार किलोलिटर क्षमताका पाँचवटा भर्टिकल ट्याङ्क निर्माण गरिनेछ। भविष्यमा थप भण्डारण ट्याङ्क निर्माणका लागि आवश्यक जग्गा समेत व्यवस्था गरिनेछ। प्रमुख यादवका अनुसार नयाँ डिपो आगामी ५० वर्षसम्मको हवाई इन्धनको माग धान्न सक्ने क्षमताको हुनेछ।
डिपो पूर्णरूपमा स्वचालित र अत्याधुनिक हुने बताइएको छ। इन्धन लोडिङका लागि ६ र अनलोडिङका लागि ८ वटा वे निर्माण गरिनेछ। साथै, अन्तर्राष्ट्रिय उडान गर्ने जहाजमा इन्धन भर्ने प्रयोजनका लागि ७ वटा हाइड्रेन्ट रिफ्युलर राखिनेछ।
अग्नि सुरक्षा उपायस्वरूप डिपोमा २१०० किलोलिटर क्षमताका दुई वटा पानी ट्याङ्क तथा पूर्ण स्वचालित अग्नि नियन्त्रण प्रणाली जडान गरिनेछ।
नागरिक उड्डयन प्राधिकरणले जग्गा व्यवस्थापनको काम छिटो सम्पन्न गरिदिएमा आगामी भदौ महिनामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने र मंसिर महिनाबाट निर्माण सुरु गर्ने लक्ष्य रहेको प्रमुख यादवले बताए। निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने र २०८४ सालको मंसिरदेखि नयाँ डिपोबाट इन्धन वितरण सुरु गर्ने योजना छ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन लामिछानेले कुनै पनि प्रकारका परियोजना डिजाइन गर्न संस्थान सक्षम रहेको उल्लेख गरे। उनले नेपाल आयल निगमसँगको सहकार्यले संस्थानको प्राविधिक क्षमता वृद्धि भएको र तोकिएको समयमा डिपिआर हस्तान्तरण गर्न सफल भएको जानकारी दिए।




प्रतिक्रिया