हवाई उडानमा नयाँ मापदण्ड: ज्वरो र खोकी लागेकालाई उड्न निषेध

हवाई उडानमा नयाँ मापदण्ड: ज्वरो र खोकी लागेकालाई उड्न निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ –  सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ ।

मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ । यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ । त्यस्तै यात्राको क्रममा अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने र यात्राभर आफूलाई आवश्यक मास्क आफैँ व्यवस्था गर्नुपर्नेसमेत उल्लेख गरिएको छ ।

त्यस्तै यात्रुले उडान जाँचदेखि लगेज लिने प्रक्रियासम्म कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा जनाइएको छ ।मापदण्डअनुसार अहिलेको समयमा उडानका क्रममा यात्रुलाई पत्रपत्रिका तथा म्यागेजिन उपलब्ध हुने छैन । आन्तरिक उडानमा खानपिनको व्यवस्थामासमेत रोक लगाइएको छ ।

त्यस्तै अति आवश्यकलाई मात्र विमानस्थलमा ट्रली उपयोग गर्न दिइने छ । ७० वर्ष उमेरमाथिका वृद्धवृद्धा, गभर्वती र गम्भीर स्वास्थ्य समस्या भएकालाई सकेसम्म उडान नगर्न आग्रह गरिएको छ । उडानमा जनावर लैजान नपाइने भएको छ ।

वायु सेवा सञ्चालकले यात्रुले प्रस्ट रूपमा देख्नसक्नेगरी गर्नुहुने तथा नहुने क्रियाकलापसहितका सूचना पम्लेट अथवा डिस्प्लेमार्फत सम्पे्रषण गर्नुपर्ने छ । यात्रुले आफ्नो लगेज सजिलै पहिचान गर्नसक्ने गरी व्यवस्था गर्नुपर्ने छ । वायु सेवा सञ्चालकले उडान सञ्चालनसम्बन्धी कार्यविधि जारी गर्नुपर्ने छ र त्यस्तो कार्यविधि सम्पूर्ण कर्मचारीलाई उपलब्ध गराउनुपर्ने छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।