डेङ्गी नियन्त्रण गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल

डेङ्गी नियन्त्रण गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाण्डु उपत्यकामा डेङ्गी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

काठमाण्डु, भक्तपुर र ललितपुरमा डेङ्गी संक्रमितको संख्या वृद्धि भएसँगै महामारीको रूप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेङ्गीे नियन्त्रण गर्न सकिने बताए । उनले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । ‘उपत्यकामा डेङ्गी नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘आमनागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।’

साउनदेखि फैलिएको डेङ्गी भदौ र असोजमा थप फैलिन सक्ने जोखिम रहेको विज्ञहरूको भनाइ उदृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताए । उनले सरसफाइको कमीका कारण संक्रमण फैलिने भएकाले मन्त्रालयले देशैभर हप्तामा १ दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।

हाल मन्त्रालयले डेङ्गी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ । अब उपचारसँगै थप संक्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उनले आग्रह गरे । मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उनले जनाए ।

मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानी मात्र कम गर्न सकिए संक्रमण न्यूनीकरणमा धेरै सहयोग हुने धारणा राखे । छलफलमा सहभागी काठमाण्डु, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरूको जानकारी गराएका थिए । उनीहरूले डेङ्गी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूले पनि एक्लाएक्लै काम गर्ने प्रवृत्ति रहेकाले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । ‘हामीलाई पहिलोपटक मन्त्रालयले महामारी नियन्त्रणको छलफलमा सम्झेको छ,’ नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भनिन्, ‘हामी डेङ्गी नियन्त्रणमा सहकार्य गर्न तयार छौं ।’

स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले खानेपानीको गुणस्तर कायम नगर्नेहरूलाई कारबाही गर्न तथा निजी अस्पतालहरुबाट तथ्यांकमा सहयोग प्राप्त नगरेकाले मन्त्रालयको सहयोग आवश्यक रहेको बताएका छन् ।