काठमाण्डु – देशभर बढ्दो अत्यधिक चिसो र शीतलहर बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति सर्वसाधारणलाई सचेत गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोका कारण रुघाखोकी, ज्वरो, दम, श्वासप्रश्वासमा कठिनाइ र हाइपोथर्मिया जस्ता समस्याहरू बढ्ने जोखिम रहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे ।
विशेषगरी जाडोयाममा हुने शीतलहर, हुस्सु र हिमपातले बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई बढी जोखिममा पार्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
पछिल्ला वर्षहरूमा जाडोको समयमा बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कमा समेत गम्भीर असर पुर्याउनुका साथै क्यान्सर जस्ता घातक रोगहरूको जोखिम र मृत्युदर समेत बढाएको मन्त्रालयले जनाएको छ । चिसोबाट बच्न र स्वास्थ्य स्थिति बिग्रिन नदिनका लागि धुवाँधुलोबाट जोगिन, न्यानो लुगा लगाउन, पोषणयुक्त सन्तुलित खाना खान तथा पर्याप्त मात्रामा तातो झोल पदार्थको सेवन गर्न सुझाव दिइएको छ । भिटामिन ‘सी’युक्त सुन्तला, कागती र अमला जस्ता फलफूलका साथै मौसम अनुसारका ताजा सागपातको सेवनमा जोड दिँदै व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
यदि चिसोका कारण स्वास्थ्यमा समस्या देखिएमा वा लक्षणहरू बढ्दै गएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा मन्त्रालयको ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ बाट परामर्श लिन समेत प्रवक्ता डा. बुढाथोकीले अनुरोध गरेका छन् ।




प्रतिक्रिया