काठमाण्डु-भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवन बनेको छ ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत २ करोड ५३ लाख रुपैयामा भवन बनेको हो । भवनकोे नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
त्यस अवसरमा उनीहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए । भारत सरकारको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) का रूपमा लिएर दार्चुलाको नौगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो ।
निर्मित स्वास्थ्य चौकी भवनले सेवा प्रवाहमा सुधार गर्न मद्दत गर्नुका साथै सुदूरपश्चिम क्षेत्रका नागरिरको उपचार पहुँच वृद्धि गर्ने अपेक्षा लिइएको गाउँपालिकाका अध्यक्ष धामीले बताए । यस परियोजनाबाट १५ हजार बढी जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया