काठमाण्डु – सरकारले क्रमिक रूपमा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, अधिकांश नागरिकले खोप लगाउन नपाएकाले निषेधाज्ञा खुकुलो हुँदा थप जोखिम बढ्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।
विज्ञहरुले सबै नागरिकलाई खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । यस्तै विभिन्न पेशा व्यवसाय गर्नेहरुले पनि जोखिम रहेको बताउँदै खोप उपलब्ध गराउन सरकारसँग माग गरिरहेका छन् । तर, प¥याप्त खोप उपलब्ध नहुँदा सरकारले सबै नागरिकलाई खोप लगाउन सकेको छैन ।
यता खोप उत्पादक राष्ट्रहरुले समयमा खोप दिने आश्वासन दिएपनि हालसम्म खोप उपलब्ध हुन सकेको छैन् । जसका कारण नेपालको खोप अभियान नै प्रभावित बनेको छ । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायतका राष्ट्रहरुले (कोभ्याक्स फ्यासिलिटी, खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन् ।
नेपालले कुटनीतिक पहल गरेपनि स्वास्थ्यमन्त्रीको जिम्मेवारी हेरफेर हुँदा खोप खरिद प्रकृयालाई समेत असर परेको छ । स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्यसम्पादनमा समस्या आएको हो ।
स्रोतकाअनुसार नयाँ मन्त्रीले खोप ल्याउनका लागि अघि सारेको योजना कार्यान्वयन नहुँदै छिटोछिटो मन्त्री हेरफेरका कारण कार्यसम्पादनमा समस्या देखिएको हो ।
‘एउटा निर्णय कार्यान्वयन नुहँदै मन्त्री फेरबदल भइदिन्छ । यसले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध रहेको खोप खरिदका विषयमा सदस्या उत्पन्न भएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘यसरी हुने मन्त्रीको फेरबदलले विदेशी दातृ निकायहरुले नकारात्मक रुपमा लिन्छन् । यसले समग्र नेपालसँगको कूटनीतिक सम्बन्धमा पनि नकारात्मक असर पर्छ ।’
कोरोना महामारीयता मात्रै चार जना स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । कोरोना कालमा भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् ।
साथै आजबाट कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ । मन्त्रीहरु छिटोछिटो फेरिदा योजना कार्यान्वयनमा समस्या देखिएको हो । पहल गर्ने र योजना बनाउँदैमा मन्त्री परिवर्तन हुँदा कोरोना नियन्त्रण र खोप आयात गर्न हम्मेहम्मे परेको छ । कोरोना संक्रमणको अचुक उपाय मानिएको खोप कहिले नेपाल भित्रिने हो ? त्यसको ग्यारेण्टी नहुँदा खोप लगाउनबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।
अझै खोपको पखाई
पहिलो डोज नै लगाउन नपाएकालाई खोप कहिले पाइला भन्ने चिन्ता छ । पहिलो डोज लगाएर दोस्रो डोज खोप लगाउन नपाएका (मुख्यतः ६५ देखि ७५ वर्ष उमेरसमूहका) झण्डै साढे १३ लाख ज्येष्ठ नागरिकमा भने दोस्रो डोज कहिले आउला भन्ने तीब्र छटपटी छ । उनीहरुले गत फागुन २३ देखि पहिलो डोज ‘कोभिसिल्ड’ खोप लगाएका थिए ।
त्यसरी पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने थियो । तर, खोप नभएकाले उनीहरुले मध्य असार हुनलाग्दासम्म दोस्रो मात्रा पाउन सकेका छैनन् । हालसम्म नेपालमा ४२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित २६ लाख नागरिकले पहिलो मात्रा लगाएका छन् । सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ नागरिकलाई खोप लगाउने योजना बनाएको छ । अझै अनुमानित १ करोड ९० लाख नागरिकले खोप लगाउनै पाएका छैनन् ।
असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिनसके केहि हदसम्म कोरोना नियन्त्रण हुने बताएका छन् । सरकारले असोज अन्तिमसम्म ३३ प्रतिशत जनसंख्यालाई पहिलो डोज दिने लक्ष्य राखेको बताए । त्यसकालागि १ करोड ५० लाख डोज आवश्यक पर्ने उनको भनाई छ ।
नेपालमा कोभ्याक्स सुविधाबाट २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलव्ध हुने र बाँकी सरकारले नै खरिद गर्ने सचिव अर्यालले बताए । खोप खरिदमा कुटनीतिक पहल आवश्यक परेपनि मन्त्रीहरुको हेरफेर हुदाँ कुटनीति पहल दह्रो हुन नसकेको जानकारहरु बताउँछन् ।




प्रतिक्रिया