स्वास्थ्य मन्त्रालयले भन्योः स्कूले विद्यार्थीमा कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउनू


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढिरहेकाले रात्रिकालिन व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा काठमाण्डु, पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउनुहुन आग्रह गरेको छ ।

‘जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू जस्तै सपिङ–मल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।’

साथै विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरू पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न गराउनु हुन स्थानीय तह र स्थानीय प्रशासनहरूलाई मन्त्रालयको अनुरोध छ ।

‘कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस इन्भेष्टिगेसनका लागि एन्टिजेन तथा आवश्यकता अनुसार पिसिआर परीक्षण बढाउनका लागि सम्बधित स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहहरूलाई अनुरोध छ’, मन्त्रालयले भनेको छ ।

मास्कको प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ ।

‘संक्रमणको अवस्था हेरी ठूला सहरहरूमा ५०० भन्दा बढी र साना सहरहरूमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइका साथ गर्न गराउनु हुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या सम्बन्धमा वा क्वारेन्टाइन अवधि वेभ गर्ने सम्बन्धमा र अब आइन्दा कोभिड संकटको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कडाइका साथ निर्णय लिन तथा कार्यान्वयन गर्न गराउन समन्वय गर्नु गराउनुहुन सरोकारवाला निकायहरूसँग अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement