सर्पको टोकाइबाट घाइते आचार्यको हेलिकप्टरबाट उद्धार

सर्पको टोकाइबाट घाइते आचार्यको हेलिकप्टरबाट उद्धार

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट – सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर शनिबार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो ।

शनिबार बिहान जिल्ला अस्पताल पुगेका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । ‘हवाई उद्धारको शुल्क बिरामीका आफन्तले व्यहोर्ने गरेर हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो,’ उनले भने, ‘जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या भएको छ ।’

वर्षमा ४ जनासम्म सर्पले टोकेका बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिए । ‘जिल्लामा हामीलाई सर्पदंश उपचार सेवा दर्ता छैन, अनुमति पनि दिएको छैन, अहिलेसम्म आएका बिरामीलाई सुर्खेत पठाउने गरेका छौं,’ उनले भने, ‘सबै विषालु सर्पको विषविरुद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम हामीसँग उपलब्ध छैन ।’

जिल्ला अस्पताल कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा सर्पको टोकाइबाट घाइते भएकाहरूलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ ।