काठमाण्डु – सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको २ हप्ता नपुग्दै बुधबार एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित ४ चिनियाँ नागरिकको मृत्यु भएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए ।
मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । मृतक सबैको शव संकलन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।
बुधबार दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न बुधबारै ३ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको छ । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।
यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सीआरजे ७ (९एन–एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालक दलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै १ जना घाइते भएका थिए ।
यसअघि १४ अक्टोबर २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । ३ महिनामा २ हेलिकप्टर दुर्घटना भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको थियो ।
एकचालिसौं हेलिकप्टर दुर्घटना
प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल ११० हवाई दुर्घटनामा ९६५ जनाको मृत्यु भएको छ । यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो ।
नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङ्टाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । त्यसयता बुधबारको हेलिकप्टर दुर्घटना ११०औं दुर्घटना हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधबारको हेलिकप्टर दुर्घटनासहित हालसम्म नेपालमा विभिन्न हेलिकप्टर कम्पनीका ४१औं दुर्घटना हो । ती दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । उनले नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताए । उनले हवाई सुरक्षालाई प्रभावकारी बनाउन थप सक्रियता अपनाउने विश्वास व्यक्त गरे ।
प्राधिकरणको विवरणमा ११० दुर्घटनामध्ये ५१ मल्टिइन्जिन विमान दुर्घटनामा ४६९, ८ सिङ्गल इन्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा ३७३ जनाको मृत्यु भएको छ ।
अनुभवी पाइलट थिए, कसरी भयो दुर्घटना ?
बुधबार दिउँसो एयर डाइनोस्टीको हेलिकप्टर भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको थियो । चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छोडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाण्डु ल्याउने योजना थियो । तर विडम्बना हेलिकप्टर उडान भरेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो ।
एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट मल्ल वरिष्ठ र अनुभवी पाइलट थिए । उनले करीब ७ हजार घण्टा उडान भरेका थिए । लोड पनि धेरै थिएन । ४ जना मात्रै यात्रु थिए । तर पनि कसरी दुर्घटना भयो भनेर प्राधिकरणका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् ।
‘दुर्घटना अप्रत्यासित छ, आजको मौसम सफा थियो । काठमाण्डुमा ‘भीएफआर फ्लाइट’ चलिरहेको थियो । काठमाण्डुबाट ५ किलोमिटरसम्मको ‘भिजिबिलिटी क्लियर’ थियो । तर पनि कसरी दुर्घटना भयो । मौसम बिग्रिएर भयो कि अरु कारणले भयो भन्नेबारे जाँच आयोगको प्रतिवेदनपश्चात् मात्रै भन्न सकिन्छ,’ प्राधिकरणका सूचना अधिकारी भूलले भने, ‘काठमाण्डुको नजिकै जुन किसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ, प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ । एयरलाइन्सको आन्तरिक सेफ्टी अडिट पनि गर्छाैं ।’
सूचना अधिकारी भूलले उडान सुरक्षामा प्राधिकरणले गम्भीरतापूर्वक कार्य गरिरहँदा पनि हवाई दुर्घटना दर बढिरहनु चिन्ताको विषय हो भन्दै एयरलाइन्स सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा पुगेको बताए । ‘अब यहाँ कर्मसियल कुरा हैन कि एयरलाइन्स चलाउने कि बन्द गर्ने अवस्थामा पुगिसकेका छौं,’ उनले भने, ‘हामीले उडान सुरक्षामा यति गर्दागर्दै पनि किन दुर्घटना भइरहेको छ, भन्ने कुरा पत्ता लगाउन जरुरी छ, प्राधिकरणले सबै एयरलाइन्सको सेफ्टी अडिट इन्भिेष्टिगेसन गरेर आगामी दिनमा कसरी जाने भन्ने रणनीति तय गर्नेछ ।’
हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जियो
एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ । पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा बुधबार भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनः तरङ्गित बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘आजसम्म जति पनि हवाई दुर्घटना भएका छन् ती सबै दुर्घटनाले नेपालमा एभिएसन सेफ्टीमा समस्या छ भन्ने संकेत गरेको छ,’ उनले भने, ‘हवाई उड्डयन सुरक्षा हिजो पनि समस्या थियो, अहिले झनै समस्या देखिएको छ, त्यसैले नेपालको समग्र ‘सेफ्टी ओभरसाइड क्यापाबिलिटी इनह्यान्स’ गर्नुपर्छ, त्यसका लागि सरकारले नीतिगत रुपमा केके काम गर्नुपर्ने हो त्यसतर्फ ध्यान दिन जरुरी छ ।’
बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापरबाही देखिएको हवाई विज्ञ अच्युत पहाडीले बताए । ‘२ सातामै २ वटा दुर्घटना हुनुभएको दुर्भाग्य हो, तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने, ‘नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ ।’
विज्ञ पहाडीले हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन सम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया