हेलिकोप्टर दुर्घटनाः मन्त्री अधिकारीसहित ७ मृतकको शव पोष्टमार्टमका लागि टिचिङमा


काठमाडौं – हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका सातजनाकै शव पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा शुरु भएको छ ।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मृतकको शव बिहीबार काठमाडौ ल्याइएको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट शव पोष्टमार्टमको लागि टिचिङ लगिएको थियो ।

शवहरूको पोस्टमार्टम सक्न कम्तिमा दुई घण्टा लाग्ने अस्पताल स्रोतले बताएको छ। एकपटकमा दुई शवको पोस्टमार्टम गर्ने अस्पतालको क्षमता रहेको र सात जनाको शव पोस्टमार्टमका लागि कम्तिमा दुई घण्टा लाग्ने अस्पतालले जनाएको छ। निधन भएका मन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक अर्जुनकुमार घिमिरेको शवको मात्रै पहिचान हुने अवस्थामा रहेको बताइएको छ।

बाँकी शव पहिचान हुन नसक्नेगरी जलेकाले थप समय लाग्ने बताइएको छ। नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शव पोष्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडीखेलमा राखिनेछ । अधिकारीसहितको शव सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याएको हो । शव लिन सेनाको हेलिकोप्टर बुधबार नै सुकेटार विमानस्थल पुगेको थियो । तर, मौसमका कारण उड्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement