काठमाण्डु–नागरिकका गुनासो सुन्न र सम्बोधन गर्न सञ्चालित हेलो सरकारमा आउने ५० प्रतिशत बढी गुनासो सम्बोधन नै भएको पाइएको छ ।
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार हेलो सरकारमा प्राप्त ५० प्रतिशत बढी गुनासो सम्बोधन नै नभएको हो ।
‘प्रणालीमा २०७९÷८० मा ११ हजार ९३२ गुनासो प्राप्त भएकोमा पाँच हजार ८१२ (४८.७० प्रतिशत) फर्छ्यौटको लागि सम्बन्धित निकायहरूमा पठाएको र छ हजार १२० फर्छ्यौट हुन बाँकी रहेका छन्’, महालेखाको प्रतिवेदनमा भनिएको छ । यसको अर्थ नागरिकका ५१.३ प्रतिशत गुनासो सम्बोधन न भएको हो ।
सरकारी निकायबाट भएका काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष रूपमा र सरल तरिकाले गुनासो गर्न सकिने, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा सम्बन्धित निकायबाट हुने सेवा प्रवाहसम्बन्धी सूचनाका सम्बन्धमा नागरिकका जिज्ञासा समाधान गर्न २०६८ सालमा हेलो सरकार सुरुआत गरिएको थियो । महालेखा परीक्षकका अनुसार यसमा धेरै गुनासो प्राप्त हुने पाँच सार्वजनिक निकायमा प्रहरी प्रधान कार्यालय, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र, त्रिभुवन विश्वविद्यालय र सडक विभाग छन् ।
समयमै गुनासो फर्छ्यौट गरी सेवा प्रवाहमा सुधार गर्न सम्बन्धित सार्वजनिक निकायहरू थप जिम्मेवार हुनुपर्ने र सो कुराको प्रभावकारी अनुगमन गर्नु पर्नेमा महालेखाले जोड दिएको छ ।




प्रतिक्रिया