सहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग

सहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – जेनजी आन्दोलनका क्रममा काठमाण्डुमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५ सिमलटोकीका विजय चौधरीलाई संघीय सरकारले सहिद घोषणा गरेको छ भने स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको छ ।

लहान नगरपालिकाले सहिद चौधरीको परिवारलाई तत्कालका लागि १ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख महेशप्रसाद चौधरीले राहतको घोषणा गर्दै सहिद चौधरीकी ४ वर्षीया छोरीलाई १२ कक्षासम्म नि:शुल्क शिक्षा प्रदान गरिने र उनकी श्रीमतीलाई योग्यताअनुसार नगरपालिकामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए ।

‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौं,’ नगर प्रमुख चौधरीले भने ।

यसअघि नै संघीय सरकारले प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई प्रतिव्यक्ति १५ लाख राहत दिने निर्णय गरिसकेको छ ।

गत भदौ २३ गते काठमाण्डुमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । घटनाको ९ दिनपछि उनको गाउँमा अन्तिम संस्कार गरिएको छ ।

घरका कान्छा छोरा विजयको परिवारमा १ दाइ, १ दिदी, श्रीमती र ४ वर्षीया छोरी छन् । उनी विगत १ दशकदेखि काठमाण्डुमा ‘हाउस वायरिङ’को काम गर्दै आएका थिए ।

आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते प्रदर्शनकारीहरूले लहान नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरी भवनमा पूर्ण रूपमा क्षति पुर्‍याएका थिए, जसबाट करीब ७ करोड बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख चौधरीले भवन जलेर नष्ट भए पनि सेवा प्रवाह नरोकिने प्रतिबद्धता व्यक्त गरे । ‘कार्यालयको संरचना जलेर नष्ट भएको छ तर हाम्रो सेवा भावना र जिम्मेवारी जलेको छैन । दु:खसुख गरेर भए पनि आईतबारदेखि हामी सेवा प्रवाहमा लाग्ने तयारी गरेका छौं,’ उनले भने ।