चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक


काठमाडौं – चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा स्टारर चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

आउँदो बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता सरोज खनाल खलपात्रको भूमिकामा छन् । उनी पहिलो पटक फिल्ममा नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।

मदन कस्यप घिमिरेको छायांकन रहेको फिल्ममा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री रेखाले सविनको आग्रह नकार्न नसकेर ‘हिरो रिटर्न्स’ मा काम गरेको बताइन् । फिल्मको कथावस्तु र आफ्नो भूमिका पनि मन परेको उनको भनाई छ । उनी १८ वर्ष अगाडि फिल्म ‘हिरो’ बाट अभिनेत्रीको रुपमा नेपाली फिल्ममा भित्रिएकी थिइन् ।

‘हिरो रिटर्न्स’ मा प्रस्तुतकर्ता रहेका सविनले फिल्म प्रदर्शनमा आउन ढिलाइ भए पनि प्रतिक्षाको फल मिठो हुने बताए । उनी फिल्म उत्कृष्ट बनेको दाबी गर्छन् । फिल्ममा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने र चन्द्र न्यापाने निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement