काठमाण्डु – हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा हटाउन थालिएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि डोजर लगाएर संरचना भत्काउने र सडक विस्तारको काम शुरू गरेको हो । स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो ।
सडक विस्तारमा ५ सय सुरक्षाकर्मी र १० भन्दा धेरै डोजर परिचालन भएको छ भने १५ भन्दा बढी घर भत्किसकेका छन् ।
स्थानियबासिन्दा र व्यापारीले घर तथा पसल खाली गरेर सामान सारिरहेका छन् । सडक डिभिजनले गएको मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज अर्थात् (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका अतिक्रमित घरटहरा र संरचना हटाउन १५ दिने सूचना निकालेको थियो । यसको अन्तिम समयसिमा शुक्रबारसम्म थियो ।
सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै मंसिर ५ गते सार्वजनिक सूचना निकाल्दै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन कार्यालयले आफैं भत्काउने जनाएको थियो ।
तर मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरुले आन्दोलन गर्दै आएका थिए । यसैबीच सडक विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले हिजो कारण देखाऊ आदेश जारी गरेको छ ।
पूर्वसांसद विन्दबासिनी कंसाकारले यही १६ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरी आउँदो २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । तर सडक डिभिजन कार्यालयले पूर्वनिर्धारित योजनाअनुसार नै सडक विस्तारको काम निरन्तर अघि बढाउने जनाएको छ ।




प्रतिक्रिया