उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न


काठमाण्डु – नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन भएको उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा चैत्र १६ गतेदेखि सञ्चालन भएको सि.सं. ६ उच्च स्तरीय सुरक्षा तालिम प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीले आज समापन गरेका हुन् ।

उक्त समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए भने प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राखेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालिमका सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धि विविध आयामबारे एथेष्ट ज्ञान हासिल गरेको विश्वास व्यक्त गरे ।

उनले वर्तमान जटिल विश्व परिस्थितिमा सुरक्षाका विभिन्न आयामहरु रहेको तथा सक्षम र शान्तिपुर्ण समाज निर्माणको लागि सबै आयामहरुलाई उत्तिकै महत्व दिनुपर्ने बताए । त्यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्षहरु थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायहरु बीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भुमिका खेलेको विश्वास व्यक्त गरे ।

वि.सं. २०७२ सालबाट शुरु गरिएको यस तालिममा नेपाल सरकारको विभिन्न निकाय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय समाचार समिति, नेपाली सेना र अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु गरी २५ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो । हालसम्म ११५ जनाले यस तालिममा सहभागिता जनाइसकेका छन् ।

कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरि आयोजना गरिएको उक्त समापन समारोहमा रक्षा सचिव, त्रिभुवन विश्व विद्यालयका पदाधिकारीहरु, पूर्व शिक्षाध्यक्षहरु, अतिथिवक्ताहरु एवं नेपाली सेनाका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement