काठमाण्डु – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।
संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ ।
दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।
सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिँदा गठबन्धन सरकार ढलेको थियो । सोही विषयमा आज छलफल हुनेछ ।
बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया