काठमाण्डु – देशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचवटा राजमार्ग अवरुद्ध भएका छन् ।
मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ र पोखरा ताङतिङका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् ।
बाढीका कारण अवरुद्ध भोजपुर नगरपालिका–५, बोखिमस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएको छ ।
वर्षाका कारण इलाम नगरपालिका–९, राजदुपालीस्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, सम्भावित बाढीको जोखिम रहेका कारण बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटेन्जेबसी चल्ने सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ । सो सडकखण्डमा गएको असार २२ गतेदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको हो ।
यता, मकवानपुरको भीमफेदी गाउँपालिका–५ भर्याडाँडास्थित कान्तिलोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोका कारण कास्कीको मादी गाउँपालिका–२, ज्याम्दोमा पनि सडक अवरुद्ध भएको छ ।





प्रतिक्रिया