राजीनामा दिँदै कार्कीले भने– कोशीमा मध्यावधि निश्चित छ, चुनावमा जानुपरे एमाले डराउँदैन

राजीनामा दिँदै कार्कीले भने– कोशीमा मध्यावधि निश्चित छ, चुनावमा जानुपरे एमाले डराउँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विश्वासको मत लिने दिन अन्तिममा कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले राजनीतिक दलहरूको अंकगणित र अहिलेको अवस्था हेर्दा मध्यावधि निर्वाचन निश्चित रहेको बताएका छन् ।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै कार्कीले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताए तर राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र जनचाहना अनुसार फेरि निर्वाचनको चाहना नभएको बताए ।

कार्कीले भने, ‘अहिलेको जटिलता र अंकगणितको अवस्थाले थप जटिलतालाई नजरअन्दाज गर्ने हो भने हामी मध्यावधिको अवस्थामा पुग्नेछौं । अहिलेको अंकगणित जुन छ, ४० सिट भएको पार्टी एकातिर नेकपा एमाले छ । हामीसँग सहकार्य गरेका दल छन् । अर्कोतिर गठबन्धन दल छ, उसको पनि स्पष्ट बहुमत छैन । यो बीचमा घुमिरहेका छौं, हामीले यो अंकगणितलाई ख्याल गरेनौं भने मध्यावधि हाम्रो अगाडि निश्चित छ । यो चाहना र माग हो भने जनताको बीचमा जान नेकपा एमाले डराउँदैन । निर्वाचनमा जान तयार छ तर निर्वाचन अहिले राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, जनताको चाहना, सामाजिक अवस्था आदि केहीमा जनताले निर्वाचनको माग गरेका छैनन् ।’

आफूले विश्वासको मत नपाउने अवस्थामा राजीनामा गरेर पदमुक्त हुन सुझाव आएको पनि सभालाई उनले जानकारी गराए । संविधान र सर्वोच्च अदालतले विभिन्न मितिमा गरेको फैसलाले र संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था हुँदा राजीनामा गरेर पदमुक्त हुनुपर्छ भनेर सुझाव आएको बताए ।