काठमाण्डु– पद नछाड्ने अडानमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली काँग्रेसको साथ मागेका छन् ।
कार्कीले आफ्नो सरकार ढले प्रदेशमा अस्थिरता निम्तिने भन्दै सत्ता साझेदार काँग्रेसलाई सरकार नछाड्न आग्रह गरेका हुन् ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारहरुमा सहकार्य गर्नेसम्बन्धी तीन बुँदे लिखित समझदारी भएको थियो । समझदारीमा कोशी, बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने उल्लेख छ ।
तर, पार्टी पुनर्गठनको वकालत गरेर आफ्नो विकल्प खोजेको भन्दै अध्यक्ष केपी ओली कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने पक्षमा छैनन् ।
ओलीले कार्कीलाई हटाएर एमाले कोशी प्रदेश सभाका उपनेता तिलकुमार म्याङबोलाई मुख्यमन्त्री बनाउन चाहेका छन् । ओलीले कार्कीलाई राजीनामा दिन र तिलकुमारलाई मुख्यमन्त्री बन्ने तयारीमा लाग्न भनिसकेका छन् ।
यद्यपि कार्कीले संविधानको धारा १६८ (५) अनुसार आफू व्यक्तिगत रुपमा प्रदेश सभामा बहुमत जुटाएर मुख्यमन्त्री नियुक्त भएकाले दलीय ह्वीप नलाग्ने जिकिर गरेका छन् ।
मुख्यमन्त्री कार्कीले काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका नेता केदार कार्कीलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन र मन्त्रीहरुको राजीनामा नगराउन आग्रह गरेका छन् ।
काँग्रेस केन्द्रीय कार्यसमितिले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइसकेको छ ।
कोशीबाहेक काँग्रेस इतरले नेतृत्व गरेका सरकारमा सहभागी मन्त्रीले सामूहि राजीनामा दिइसककेका छन् ।
तर, कोशीमा भने अहिलेसम्म काँग्रेसले सरकार छाडेको छैन । काँग्रेस नेता कार्की सरकारबाट बाहिरिने वा रहने भन्ने विषयमा हालसम्म केही नसोचिएको बताउँछन् ।
‘हामी अहिलेसम्म सरकारमै छौं, सरकारबाट बाहिरिने विषयमा अहिल्यै केही सोचेका छैनौं’, कार्कीले काठमाण्डु पाटीसँग भने । कार्की संस्थापन इतर देउवा–कोइराला समूहमा छन् ।




प्रतिक्रिया