काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद हिक्मत कार्कीले सरकारले पार्टी विभाजन गर्न २० प्रतिशत भए पुग्ने भनेर अध्यादेश ल्याउनेले त्यसलाई कानुन बनाउन सदनमा ल्याउन चुनौती दिएका छन् ।
बुधबार प्रदेश नम्बर १ को प्रदेशसभामा बोल्दै सांसद कार्कीले एमाले विभाजन भएपछि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता गरिएको बताउँदै सदनबाट कानुन बनाएर देखाउन चुनौती दिएका हुन् ।
‘पार्टी विभाजन गर्न २० प्रतिशत भए पुग्ने भनेर अध्यादेश ल्याउनेले त्यसलाई कानुन बनाउन सदनमा ल्याए हुन्छ । कानुन बनाएर अगाडि ल्याउन तयार हुनुहोस् । किन एमाले विभाजन भएपछि अध्यादेश फिर्ता गरियो ?,’ उनले भने ।
साथै उनले माधव नेपाल आफ्ना लागि सम्मानित नेता भएकैले पटक पटक भोट हालेको पनि स्मरण गरे ।
‘केही नेताहरु सत्ताको अतृप्त भोकले पार्टी फुटाउन लागेका छन् । लोकतान्त्रिक व्यवस्थालाई नै धरासायी गर्न लागेका छन्’, उनले भने ।
सांसद कार्कीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले मन्त्रीहरुलाई पार्टी अफिसमा बोलाएर जाँड–रक्सी खान नपाइने, महिलाहरूबाट टाढा बस्न दिएको निर्देशन अवज्ञा भएकोसमेत बताए । उनले अध्यक्ष नेपालको निर्देशनको अवज्ञा गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले स्याम्पियन फोडेको आरोप लगाएका छन् ।
‘माधव नेपालले मन्त्रीहरुलाई पार्टी अफिसमा बोलाएर जाँड–रक्सी खान पाइने छैन, महिलाहरूबाट टाढा बस्नुहोला भनिएछ,’ उनले भने, ‘पार्टी त फुट्यो, पार्टी फोडेर सरकार बनाइयो । हिजो पार्टी फोड्नु भो, अहिले स्याम्पियन फोड्नु भयो, अब कार्यकर्ताको भावना फोड्दै हुनुहुन्छ । पछि मन्त्रालय फोड्छन् ।’
पूर्वमन्त्रीसमेत रहेका सांसद कार्कीले प्रदेश सभामा विपक्षीकै सरह सांसद एमालेसँग रहेको बताउँदै समयक्रमसँगै संघदेखि प्रदेशमा सरकारका लागि संख्या पु¥याउने दाबी गरे । एमाले महाधिवेशन केन्द्रित रहिरहेका बेला विश्वासको लिनका लागि हतारिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
‘प्रदेश सभामा तपाईंहरुकै हारहारी सांसद एमालेसँग छ। समयक्रमा सरकारका लागि संख्या पु¥याउँला संघदेखि प्रदेशमा,’ उनले भने, ‘सांसदलाई टिकाइराख्न गाह्रो लाग्छ कि भनेर पो हो कि !’




प्रतिक्रिया