काठमाण्डु – नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमाल चुचुराहरूको आरोहण निःशुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको हो ।
१८ साउनको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाएको छ ।
यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीनवटा सात हजार मिटर माथिका रहेका छन् । यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।
१ साउनदेखि आरोहीहरूले ५ हजार ८ सय ७० मिटरदेखि ७ हजार १ सय ३२ मिटर उचाइका हिमालहरू बिना कुनै आरोहण दस्तुर चढ्न सकिनेछ । निःशुल्क आरोहण अनुमति दिइएकामध्ये ७७ हिमालहरू कर्णाली प्रदेशका हुन् भने २० सुदूरपश्चिम प्रदेशका छन् ।
पर्यटन विभागले यो पहल देशको दूरदराजका पर्यटकीय गन्तव्यहरू प्रदर्शन गर्न कोशेढुंगा साबित हुने आशा गरेको छ।
पर्वतारोहण नेपालको लागि आम्दानीको प्रमुख स्रोत हो। विश्वका १० अग्ला चुचुराहरूमा आठ वटा नेपालमा अवस्थित छन्।
गत वर्ष, नेपालले पर्वतारोहण शुल्कबाट झण्डै ६० लाख डलर कमाएको थियो, जसमध्ये तीन चौथाइभन्दा बढी सगरमाथाबाट मात्रै आएको थियो।
नेपालले सगरमाथासहित ४ सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । सन् २०२४ मा सरकारले हिमाल आरोहणबापत ६७ करोड ४७ लाख रुपैयाँ सलामी रकम संकलन गरेको थियो । यसमा सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख रुपैयाँ संकलन भएको थियो । तर सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालबाट न्यून आम्दानी भएको छ । पछिल्ला दुई वर्षमा २१ आरोहण दलका ६८ आरोहीहरुले मात्रै आरोहण गरेका छन् । जसबाट सरकारलाई १४ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
सेप्टेम्बरदेखि हुने शिखर आरोहणको मौसममा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति शुल्क १५ हजार डलर पुगेको छ। लगभग एक दशकपछि पहिलो पटक सगरमाथा आरोहणको शुल्क बढाइएको हो।
नेपालमा ५५ सय मिटरभन्दा माथिका ३३ सय १० हिमालहरु छन् । यीमध्ये ४६१ वटा व्यावसायिक अभियानका लागि खुला छन्, र १०२ वटामा अहिलेसम्म कसैले पनि आरोहण अनुमति पाएका छैनन् ।




प्रतिक्रिया