बेइजिङ – हिमालय एयरलाइन्सको जहाजले आजदेखि काठमाडौं–बेइजिङ उडान थालेको छ । निजी क्षेत्रको लगानी रहेको उक्त एयरलाइन्सले आइतबार चीनको राजधानी बेइजिङमा आफ्नो पहिलो उडान गरेको हो । यससंगै काठमाडौं र बेइजिङ पहिलो पटक सिधा हवाइ सञ्जालमा जोडिएका हुन्।
हिमालयको उडान नं. एच ९६६५ को जहाज बेइजिङमा आइतबार सांझ ५ः१० बजे अवतरण गरेको हो। बेइजिङस्थित नेपाली दूतावासकाअनुसार बेइजिङमा हिमालयको जहाज अवतरण गरेलगत्तै चीनको स्वशासित क्षेत्र तिब्बतका उपप्रमुख लुओ मेई र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले डाक्सिन विमानस्थलमा स्वागत गरेका थिए।
स्वागत समारोहमा बोल्दै राजदूत पौडेलले दुई सहरबीचको सिधा उडानले दुई देशबीच हवाइ सहकार्यलाई मजबुत बनाउनुका साथै व्यापार, लगानी र जनसम्पर्कलाई समेत सिधा उडानले प्रवद्र्धन गर्ने बताए ।
हिमालय एयरलाइन्सको ए ३२० जहाजले दुई सहरबीचको सिधा उडान हप्तामा आइतबार, मंगलबार र शुक्रबार गरी तीन दिन गर्नेछ।उक्त विमान काठमाडौंबाट नेपाली समयअनुसार बिहान ९ बजे चीन गएको थियो। चीन उडानमा ६० जना यात्रु रहेका थिए भने नेपाल फर्किंदा ७० जना रहेको नेपाली दूतावासले जनाएको छ।





प्रतिक्रिया