दार्चुला र बझाङमा हिमपहिरो, ९ जना बेपत्ता भएको आशंका


काठमाण्डु- दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ । आज दिउँसो पौने ३ बजे गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हिमपहिरो गएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली गएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिए।

बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेकाले केही व्यक्तिहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ । सोबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका-१ देवडी घर भएकी ३३ वर्षीया झलनादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन् ।

उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएको समय बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। गए राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ ।

उनको साथमा रहेका दुई वटा छोरा भने सकुसल घर पुगेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ। खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement