काठमाण्डु- सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए।
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिएका छन् । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उनको भनाइ छ ।
आज विहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ ।
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ । चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
त्यस्तै यता मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए ।




प्रतिक्रिया